भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो। कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटमा झण्डै ५५ हजार र प्रदेशभरि झण्डै ६५ हजार घरधुरी विस्थापित भएका छन्। विस्थापित सबैको बास भनेकै पालमुनि हो ।
दशैँ घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन् । भूकम्पपीडितले लक्ष्मी पूजाको दिन अस्ति आइतवार पालमुनि नै दीप प्रज्वलन गरेर लक्ष्मीको पूजा गरे । तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको जाजरकोट कुशे गाउँपालिकाका कालीबहादुर सिंहले बताउनुभयो ।
भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनःस्थापना तथा पुनःनिर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने भूकम्प प्रभावितको भनाइ छ ।