भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी तीव्र

भैरहवा, २६ कार्तिक ।

आगामी मंसिर ६ देखि १८ गतेसम्म भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारीरुपमा भइरहेको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजना, सिद्धार्थनगर नगरपालिकाको सह–आयोजना तथा नेपाल चेम्बर अफ कमर्श काठमाडौं र चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको संरक्षकत्वमा हुने महोत्सवको तयारी तीव्र पारिएको हो ।

सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा हुने महोत्सवको ७० प्रतिशत बढी काम सम्पन्न भइसकेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताउनुभयाे । उनले आर्थिक क्षेत्र चलायमान हुन नसकेको अवस्थामा आर्थिक क्षेत्रमा केही भए पनि चलायमान होस् भन्ने उद्देश्यले मेला सञ्चालन गर्न लागिएको बताए । उनले उद्घाटन भएर पनि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार हवाइजहाजको आकृतिमा निर्माण गरिने बताए । उनले भने, ‘विमानस्थल झल्किने गरी ८० रुपैयाँको टिकटमा जहाजमा प्रवेश गरेर मेलास्थलमा जान सक्ने गरी प्रवेशद्वार बनाउँदैछौं ।’ त्यस्तै मेला सचिवालय अर्घाखाँचीमा रहेको प्रसिद्ध सुपा देउराली मन्दिरको आकृतिमा बनाइने उनले जानकारी दिनुभयाे । ‘मेलामा सेल्फी÷टिकटक जोन पनि रहनेछ,’ श्रेष्ठले भन्नुुभयाे ।

महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको मेला आयोजकले जनाएको छ ।
शनिबार र सार्वजनिक विदाको दिनबाहेक अन्य दिनहरुमा बिहान ११ बजेसम्म र ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको साथै महोत्सवमा स्थानीयका साथै राष्ट्रिय कलाकारको प्रस्तुति रहने श्रेष्ठले जानकारी दिनुभयाे ।

महोत्सव स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने स्थान रहेको उहाँको भनाई छ । खेलकुदको प्रवद्र्धनका लागि भलिबल, कुस्ती लगायतका खेल प्रतियोगितामा महोत्सव सञ्चालन गरिने श्रेष्ठले बताए । तराईमा धेरै रुचाइएको कुस्ती प्रतियोगितामा महिला पहलमानकोसमेत सहभागीता रहने उनले जानकारी दिनुभयाे ।

महोत्सवको करिब ५ लाख दर्शकले अवलोकन गर्ने उहाँले बताउनुभयाे । मेलामा ३५० देखि ४५० सम्म स्टल राख्ने लक्ष्य रहेको र केही स्टलहरु दर्ता गर्न बाँकी रहेको उहाँले बताउनुभयाे । सरकारले गर्नुपर्ने महोत्सव निजी क्षेत्रले गर्दै आएको उनले बताए । ‘वास्तवमा मेला महोत्सव राज्यले गर्नुपर्छ, तर प्रत्येक वर्ष निजी क्षेत्रले आयोजना गर्दै आएको छ । विदेशमा सरकारले मेला महोत्सवको आयोजना गर्छ । मेलाका लागि स्थायी मण्डप नहुँदा वर्षेनी करोडौं लगानी र समय अस्थायी संरचनमा खर्चिनुपरेको छ,’ उनले भने । भैरहवा मण्डप स्थापना नभएसम्म समस्या रहेको उहाँको भनाइ छ । संगठनका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले अर्थतन्त्रमा थोरै भए पनि गति आओस् भन्ने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय गरिएको बताए । उनले यस क्षेत्रका उद्योगी, व्यवसायी, नागरिक समाज, संस्कृति प्रेमी समुदाय, संचारकर्मी सबैको सहयोगमा महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयाे ।

संगठनका सचिव, प्रवक्ता एवं महोत्सवका प्रचारप्रसार एवं यायातात उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले मेलास्थलमा लैजान र दर्शकलाई गन्तव्यसम्म पुर्याउन शनिबारबाहेक अन्य दिन १० वटा ई- रिक्सालाई मेलास्थलमा पार्किङको व्यवस्था गरिएको बताउनुभयाे ।