सुनवल नगरपालिकाकाे २ मिनी टिप्पर र १ जेसिबी स्थानिय द्वारा नियन्त्रणमा

सुरेश यादव,परासी / भदौ ०८ ।

सुनवल नगरपालिकाकाे २ वटा मिनी टिप्पर र १ वटा जेसिबी नदिजन्य पदार्थ उत्खनन गरिरहेकाे अवस्थामा स्थानीयले नियन्त्रणमा लिई बडेरा स्थित सब डिभीजन वन कार्यालयमा बुझाएका छन् ।

सुनवल नगरपालिका ४ रमवापुर स्थित दामाेदरकुण्डमा आज शनिवारबाट लागेकाे कृष्ण जन्माष्टमी विविध पुजा कार्यक्रमममा खाल्डाखुल्डी पुर्न भन्दै वडाकाे सिफारिसमा उक्त मिनी टिप्पर र जेसिबी खाेलामा पसेकाे थियाे ।

केही दिन अघिमात्र सुनवल नगरपालिकाले असार,साउन र भदौ गरि तिन महिना नेपालका कुनैपनि नदि खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन गर्न नमिल्ने भन्दै चाेरी निकासीमा सङ्लग्न हाइवा र टिप्पर नियन्त्रणमा लिएकाे थियाे भने खाेला छेउमा डम्पिङ गरी राखिएका चाेरीका ढुंगा समेत उठाएकाे थियाे ।

नियम कानुन सबैलाई बराबर लाग्नुपर्छ भन्दै केही स्थानीयले खाेलामा पसेकाे मिनि टिप्पर र जेसीबीलाई नियन्त्रणमा लिई सब डिभीजन वन कार्यालयलाई फाेन गरेकाे नाम नखुलाउने सर्तमा एक स्थानीयले बताएका छन् । नियन्त्रणमा लिएकाे मिनी टिप्पर र जेसीबीलाई नियम अनुसार कारवाही प्रकृयामा लगिने सब डिभिजन वन कार्यालयले जनाएकाे छ ।