लुम्बिनीमा बुद्धिष्ट वल्र्ड टुरिजम मार्केटको आयोजना हुने

भैरहवा / साउन ०८ ।

रुपन्देहीको लुम्बिनीमा बुद्धिष्ट वल्र्ड टुरिजम मार्केटको आयोजना हुने भएको छ । गौतम बुद्धसंग जोडिएको लुम्बिनी लगायत यसको आसपास रहेको अन्य पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले २०२४ मार्च २३ ,२४ मा नेपालमै पहिलो पटक बुद्धिष्ट वल्र्ड टुरिजम मार्केटको आयोजना लुम्बिनीमा हुन लागेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीका लागि सदभावनादूत तथा पर्यटन व्यवसायी विक्रम पाँडे काजीको अगुवाइमा हुन लागेको बुद्धिष्ट वल्र्ड टुरिजम मार्केटको बारेमा सोमबार भैरहवामा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायी पाँडेले लुम्बिनीसँगै यससँग जोडिएर रहेका अन्य बुद्धिष्ट सर्किट तथा लुकेका पर्यटकीय स्थलहरुको पहिचान गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताउनु भएको छ । उहाले ‘लुम्बिनी मात्र नभइ रुपन्देहीका बिभिन्न स्थान, नवलपरासी र कपिलबस्तु लगायतका जिल्लामा रहेको प्राय सबै स्थान गौतमबुद्धसँग जोडिएर रहेको बताउनु भयो । पाँडेले ‘गौतमबुद्ध अभिनिष्क्रमण पछि भैरहवा, रोहिणी नदी पार गर्दै अनोमा नदी हुँदै गएकोले यी सबै क्षेत्रहरुमा उच्च पर्यटकीय सम्भावना रहेको बताउदै यो सबैको प्रवद्र्धन गर्ने आफनो उद्देश्य रहेको उल्लेख गर्नु भयो ।

उहाले कपिलवस्तुमा महाअभिनिष्क्रमण दिवस मनाउने गरिएको बताउँदै यसलाई जोडेर भैरहवा हुदै त्रिवेणीसम्म पुर्याउन सकिने बताउनु भयो । यसको लागि आफ्नो प्रयासमा स्थानिय पर्यटन व्यवसायीहरुको समेत सहयोग आवश्यक रहेको बताउनु भयो ।

बुद्ध जन्मस्थल लुम्बिनीका लागि सदभावनादूत तथा पर्यटन व्यवसायी विक्रम पाँडे काजीको प्रस्तावमा भैरहवाका व्यवसायीहरु सकारात्मक भएको बताएका छन् । पर्यटन व्यवसायी किशोर जोशीले लुम्बिनी नजिक भएर पनि उपेक्षित रहेको भैरहवालाई बुद्धसँग जोड्न सकिने बताउनु भयाे । उहाले रोहिणी नदीलाई प्रवद्र्धन गरी यसैको माध्यमबाट यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउन सकिने बताउनु भयाे ।

त्यस्तै सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटन र यस क्षेत्रको आर्थिक क्षेत्र चलायमान बनाउन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न अपरिहार्य रहेको बताउँदै यसमा सबै लाग्न आग्रह गर्नु भयाे ।

नयाँनयाँ पर्यटकीय स्थल तथा पर्यटकीय गतिविधिहरु गर्न रुचाउने विक्रम पाँडे काजीले लुम्बिनी र तिलौराकोटको बीचमा मायादेवी माईत हिंडेको बाटोलाई मायादेवी सुत्केरी मार्ग नामाकरण गरी यसको प्रवद्र्धनमा पनि लाग्नु भएको छ । करिब ३९ किलोमिटर लामो यस मार्गमा यसै वर्षदेखि ‘मायादेवी सुत्केरी मार्ग म्याराथन’ को आयोजना गरिने उहाले बताउनु भयाे ।