पुर्व प्रधानमन्त्री देउवा भाेलि शनिबार नवलपरासी आउँदै

सुरेश यादव,परासी / असार ०७ ।

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भाेलि शनिवार असार ८ गते नवलपरासी आउनु हुने भएको छ । नवलपरासीमा २०१५ सालको निर्वाचनमा प्रथम जननिर्वाचित सांसद स्व. पृथ्वीराज कण्डेलको अर्धकदको शालिक अनावरण र स्व. पृथ्वीराज कण्डेल बसपार्क समुदघाटन गर्न सभापति आउने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस नवलपरासीले जनाएको छ ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. १ महेशपुरमा स्व. कण्डेलको अर्धकद राखिने छ भने स्व.कण्डेलको नाममा निर्मित बसपार्कको उद्घाटन कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले जानकारी दिनुभयो । स्व. पृथ्वीराज कण्डेल बसपार्क संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद कलवारले पूर्वप्रधानमन्त्री देउवा समुदघाटनमा आउने भएपछि त्यसको भव्य तयारी भईसकेको बताउनुभयो ।

स्व. पृथ्वीराज कण्डेलको नाममा पाल्हीनन्दन १ महेशपुरमा सुविधा सम्पन्न बसपार्क निर्माण भइसकेको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कण्डेलको पहलकदमीमा सहरी विकास मन्त्रालयको १ करोड, पाल्हीनन्दन गाउँपालिकाको १० लाख र वडा नं. १ को ३ लाखको लागतमा आकर्षक बसपार्क निर्माण भएको हो ।

निर्माण सम्पन्न बसपार्कको समुदघाटन गर्न पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति देउवा नवलपरासी आउनलाग्नु भएको नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव प्रसाद पाण्डेले जानकारी दिनुभयो ।