सुरेश यादव,परासी / जेठ ३२ ।
विश्व रक्तदाता दिवसको अवसरमा आज पश्चिम नवलपरासीको परासीमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन भएको छ । रामग्राम जेसीजको अगुवाईमा जिल्ला प्रहरी कार्यालय, नवलपरासी, एभरग्रिन हस्पिटल प्रा.लि, परासी, परासी बैंकर्स क्लव, परासीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा परासी क्षेत्रका जम्मा ५० जनाले रक्तदान गरेको रामग्राम जेसीजका महासचिव राम प्रसाद पाैडेलले जानकारी दिनुभयाे ।
रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा जिल्ला समन्वय प्रमुख यादवले जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपि रेशम बोहोरालाई रक्त संकलन किट दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । त्यस पछि डिएसपी बोहोराले रक्तदान गर्नु भएको हो ।
कार्यक्रममा परासी क्षेत्रमा सर्वाधिक ४२ पटक रक्तदान गर्ने सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष एवम् रामग्राम जेसिजका पुर्व अध्यक्ष राजकुमार रेश्मी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापती राजेन्द्र अग्रहरी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी लगायतले बोल्दै रक्तदानको महत्वबारे प्रकाश पार्नु भएको जेसीजका कानूनी सल्लाहाकार विष्णुराज रावले जानकारी दिनुभयो ।
बढ्दो गर्मीका कारण अस्पतालमा विरामीको चाप वढीरहेको र रगतको पनि अभाव भएकोले गरिएको रक्तदानले मानवताको सेवामा निकै महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । मानव रगत समूह पत्ता लगाउने बैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर विश्व रक्तदाता दिवस मनाउने प्रचलन छ । आफ्नो रगत समूह मेलखाने व्यक्तिलाई मात्र रगत दिन मिल्दछ । सामान्यतया एक पटक रक्तदान गरेपछि कम्तिमा ३ महिनाको फरकमा रगत दिन मिल्ने चिकित्सकहरुले बताउने गरेका छन् ।