पाल्हिनन्दन ३ वडा बासीहरुद्वारा शिक्षा,स्वास्थ्य,खानेपानी र निर्माणकार्य प्रति वडाको ध्यानाकर्षण

परासी / बैशाख २७ ।

पाल्हीनन्दन गाउँपालिकामा जनप्रतिनिधिहरुले प्रभावकारी ढंगले काम गर्न नसकेको नागरिकहरुले गुनासो गरेका छन् । पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ मा आज सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीहरुले यस्तो गुनासो गरेका हुन् । वडाको सडक निर्माण, खानेपानी तथा सरसफाई, लागू औषध कारोबारमा युवाहरुको संलग्नता, मल विउबिजन र सिंचाई जस्ता विषयमा नागरिकहरुले प्रश्न गरेका थिए ।

सिद्धार्थ मा.वि कुश्माको शैक्षिक अवस्था सुधारकालागि वडाअध्यक्षले जिम्मेवारी लिनु पर्ने बडाबासीको माग छ । यस्तै कुश्मा स्वास्थ्य चौकीमा गएको तीन महिनादेखि प्रयाप्त औषधी उपचार नपाइएको प्रति वडावासीले चर्को विरोध पनि गरेका छन् ।

सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष गोधन प्रसाद हरिजनले चालु आ.ब. २०८०।०८१ को वडागत बजेट र खर्चका बारेमा जानकारी दिनु भएको छ । वडाको विकास निर्माण र सेवा प्रवाहका बारेमा नागरिकहरुलाई जानकारी दिने उद्देश्यले वडा स्तरीय सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा गाउँकार्यपालिका सदस्य अनामिका हरिजन, इलाका प्रहरी कार्यालय अमानिगञ्जका प्रहरी सहायक निरिक्षक ओम प्रकाश यादव, स्वास्थ्य चौकी कुश्माका इन्चार्ज महेश्वर गुप्ता, सिद्धार्थ मा.वि. कुश्माका प्रधानाध्यापक रविन्द्र शर्मा लगायतले वडावासीले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा वडावासी चन्दु चौहान, राजेश गुप्ता, दयानन्द हरिजन, अजय कुमार चौहान लगायत दर्जनौ वडावासीहरुले वडाको विकास निर्माण र सेवा प्रवाहका विषयमा प्रश्न उठाएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन तथा सहजिकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले गरेको हो ।