वर्तमान गठबन्धन भत्काउने चलखेल भईरहेकाे एमाले अध्यक्ष ओलीकाे भनाइ

सुरेश यादव,परासी / बैशाख २२ ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउने प्रयत्न भईरहेको बताउनुभएको छ । हिजाे नेकपा एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनलाई सुनवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सुरु भईसकेको बताउनुभयाे ।

देशि विदेशि शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउदै उहाँले एमाले यहि गठबन्धन टिकाउने पक्षमा रहेको उल्लेख गर्नुभयो । प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामि निर्वाचन बाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउदै त्यसपछि गठबन्धनको आवश्यकतानै नपर्ने दाबी समेत गर्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पद अहिले अक्षयतृतियामा बाँडिने सातु र सर्वत भन्दा पनि सस्तो भएको टिप्पणी गर्नुभयो । ओलीले भन्नुभयो सातु र सर्वत समेत अक्षय तृतियामा त्यसरी बाँडिदैन् होला जसरी अहिले प्रधानमन्त्री पद बाँडिदैछ । नाम नलिई माधव नेपाल प्रति व्यङग्य गर्दे अध्यक्ष ओलीले प्रधानमन्त्री बन्ने भन्दै तमसुक बोकेर हिडिरहेको बताउदै नेपाल प्रधानमन्त्री बन्न नसक्ने पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकका आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेप बाट देशलाई मुक्त गर्न राष्ट्रिय शक्ति निर्णायक रुपमा विकास गर्नुपर्ने सबैभन्दा टड्कारो आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रिय स्वाधिनताको सवालमा एमालेले कसैसंग सम्झौता नगर्ने बताउदै अध्यक्ष ओलीले बाह्य शक्तिबाट सहायता लिने तर आश्रित हुन नहुने धारणा व्यक्त गर्नुभयो । नेपाली भुमि रक्षा गर्ने, स्वाधिनताको रक्षा गर्ने ठेक्का एमालेलाई मात्रै दिए जस्तो भएको बताउदै आफुहरु उक्त एजेन्डा बाट विमुख नहुने पनि उल्लेख गर्नुभयो । ओलीले सुस्ता बचाउनका लागी विक्रम संवत २०२५ सालमा काठमान्डौमा आन्दोलन गर्ने क्रममा पहिलो पटक आफु पक्राउ परेको स्मरण गर्दे उक्त गिर्फ्तारी राजनैतिक जिवनको पहिलो गिर्फ्तारी भएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले आज बिहान भारतिय अतिक्रमणको चेपटामा पर्दे आएको सुस्ताको पनि आज अवलोकन गर्नुभएको थियो । पारी सुस्ता गाँउ नगएपनि उहाँले पारी सुस्ता जानका लागी बन्दै गरेको झोलुङ्गे पुलको निरिक्षण गर्नुभयो ।

यसैगरी ओलीले त्रिवेणी धाम सहित गौमत वुद्धको एक मात्र सिंगो अस्थीधातु रहेको स्थल रामग्राम स्तुपको पनि अवलोकन गर्नुभएको छ । रामग्राम स्तुपको विषयमा विशेष चासो राख्दै ओलीले स्तुपको थुम्कोमै पुगेर त्यस बारे जानकारी लिनुभएको थियो । सो क्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले स्तुपको महत्व र यसको विकासमा भईरहेको ढिलाई बारे अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । संघिय सरकार मातहत रहेको लुम्बिनी विकास कोषकै कारण रामग्राम पछाडी परेको भन्दै यादवले त्यस विषयमा संघिय सरकारको ध्यानआर्कषण गराउन अध्यक्ष ओली संग आग्रह गर्नुभयो ।

oplus_0

यसैबिच एमालेको हिजाे बाट सुनवलकाे रिर्वन होलटमा सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिने छ । जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा एमाले केन्द्रिय सचिव पद्यमा अर्याल, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, पोलिट्व्युरो सदस्य वैजनाथ चौधरीे, पाल्पाका एमाले अध्यक्ष धनेन्द्र घिमिरे, एमाले नवलपरासीका उपाध्यक्ष डोलराज भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

एमालेको हिजै बाट चुनावि कार्यक्रम सुरु भएकाे सचिव धिरज शर्मा बस्यालले जानकारी दिनुभयो । १ सय पाँच सदस्यी जिल्ला कमिटिका लागी ४ सय २६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्ष पदका लागी वर्तमान अध्यक्ष दिपेन्द्र कुमार अधिकारी र सचिव धिरज शर्मा बस्याल आँकाक्षि छन् । सर्वसम्मतको प्रयास आन्तरिक रुपमा भईरहेपनि हाल सम्म भने सहमति जुट्न सकेको छैन् । अध्यक्ष ओलीले भने सम्बोधनका क्रममा धेरै विवाद नगरी नेतृत्व टुङग्याउन निर्देशन दिनुभएको छ । मुख्य नेताहरु बिच छलफल गर्ने तर सहमती हुन नसके धेरै नलम्ब्याई चुनाव गरेर टुङग्याउन उहाँले निर्देशन दिनुभयो ।