परासी/ बैशाख ११ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आधारभुत तह उत्तिर्ण परिक्षा (कक्षा ८) को नतिजा आज सार्वजनिक गरेको छ । नतिजामा गत वर्षको तुलनामा सुधार आएको नगरपालिकाले दाबि गरेको छ ।
गत वर्ष कम नम्बर आएका र अनुत्तिर्ण विद्यार्थीलाई समेत ग्रेस मार्क (थप नम्बर) दिएर उत्तिर्ण गराईएको थियो तर यस पटक त्यसो नगरी दुई विषय सम्म अनुत्तिर्ण भएकालाई मौका परिक्षाको व्यवस्था गरिएको छ । यस वर्ष ४९ दशमलव ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको र विद्यालयका आधारमा विद्यार्थी उत्तिर्ण दर सरदरमा ५३ दशमलव ३८ प्रतिशत रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुन्दर खनालले जानकारी दिनुभयो । ३१ वटा विद्यालयका ११ सय ६१ जना विद्यार्थीले परिक्षा दिएकोमा ५ सय ७५ जना ग्रडिङ्गमा परेका छन् । थप नम्बर नदिई शुद्ध प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशन गरिएकाले विद्यालयगत रुुपमा शैक्षिक प्रगतीको वास्तविक अवस्था थाहा भएको शिक्षा अधिकृत खनालले बताउनुभयो ।
प्रतिशतको हिसाबले नतिजामा सुधार आएको भनिएपनि केहि सामुदायिक र संस्थागत विद्यालयको नतिजा कमजोर देखिएको छ । परासीको ठुला भनिएका सामुदायिक विद्यालयको नतिजा कमजोर छ । पवन माविबाट १ सय ८३ जनाले परिक्षा दिएकोमा जम्मा ४८ जना उत्तिर्ण भएका छन् भने आर्दश मावि बाट एक सय १ जनाले परिक्षा दिएकोमा ३७ जना उत्तिर्ण भएका छन् । रामग्राम ७ उजैनीमा रहेको मायादेवि ईङलिस स्कुलका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २५ जनाले परिक्षा दिएकोमा २५ जनानै ग्रेडिङ्गमा परेका हुन् ।
विद्यार्थीको वास्तविक अवस्था र विद्यालयको पनि शैक्षिक अवस्था बारे जानकारी होस् भन्ने उदेश्यले यस वर्ष देखि थप नम्बर नदिई नतिजा प्रकाशन गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताउनुभयो । अब अभिभावक पनि सचेत बन्नुपर्छ, हामिले वास्तविक नतिजा सार्वजनिक गरेका छौ,नगर प्रमुख यादवले भन्नुभयो सामुदायिक संस्थागत सबै विद्यालयको पठनपाठनमा थप सुधारको आवश्यकता छ ।
नगरपालिकाले थप रणनिति बनाएर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पहल गर्ने बताउदै यादवले त्यसैको लागी वास्तविक नतिजा सार्वजनिक गरेर सबैलाई सचेत बनाईएको उल्लेख गर्नुभयो ।
दुई विषय सम्ममा ग्रेडिङ्ग नभएका विद्यार्थीको लागी यहि बैशाख २१ र २२ गते मौका परिक्षाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।