सुरेश यादव,नवलपरासी / बैशाख ०५ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले हरियाली क्षेत्रमा सिमेन्टकाे ब्लक बिछ्याएको छ । नगरपालिकाले मापदण्ड विपरीत हरियाली क्षेत्रमा सिमेन्टका ब्लक बिछ्याएको हो ।
सदरमुकाम परासीलाई हरित नगरी बनाउने उद्देश्यले सडकको दायाँ/बायाँ दुई छेउमा ग्रिनरीसहितको संरचना रहने गरी डिजाइन बनेको तर नगरपालिकाले मापदण्ड विपरीत ब्लक बिछ्याएको छ । ग्रिनरीले बाटोको तापक्रमलाई व्यवस्थापन गर्दै पानी रिचार्जसमेत गर्ने भएकाले ग्रिनरी बनाइएको थियो । तर नगरपालिकाले ग्रिनरी हटाएर ब्लक लगाउने काम गरेकोले यसले सडक र नगरको सुन्दरतामा असर पुग्ने गरी काम गर्दा नगरपालिकाकाे आलोचित हुने गरेको छ ।
नगरपालिकाले सडकको दायाँ/बायाँ दुई छेउमा हरियाली ग्रिनरी हटाएर ब्लक लगाएको छ । नगरपालिकाले नगरको सुन्दरता नै हराउने गरी ब्लक लगाउने कार्य गरेको स्थानीयले बताएका छन् । यो कामले परासीको सुन्दरता हराउने हरियाली नै जाने कार्य नगरपालिकाले गरेको छ ।
गत आ.व.को वैशाख २० गते सुमित कन्सट्रक्सन एण्ड सप्लायर्सलाई ४७ लाख ४१ हजार नौ सय ६३ रुपैयाँ (भ्याटसहित) मा ठेक्कामार्फत ब्लक बिछ्याउनका लागि जिम्मेवारी दिएको रामग्राम नगरपालिकाका सब इन्जिनियर महेश्वर ठाकुरले बताउनुभयाे ।
सडक हस्तान्तरण नहुँदै नगरपालिकाले ग्रिनरी भत्काएर ४७ लाखको लागतमा ब्लक बिछ्याएको छ । ब्लक बिछ्याउने ठेकेदारले नगरपालिकाबाट अहिलेसम्म ३५ लाख ८२ हजार भुक्तानी लगिसकेको सब इन्जिनियर ठाकुरले जानकारी दिनुभयाे । सडकको दायाँ/बायाँ छेउमा रेलिङ र पैदल यात्री हिँड्ने सडक पेटीकोबीच भागमा वृक्षारोपण गरी हरियाली गर्नुपर्ने भएपनि स्टिमेट र डिजाइन नै फेल हुने गरी ब्लक बिछाएको भन्दै स्थानीयले आलोचना गरेका छन् । ग्रिनरीले बाटोको तापक्रमलाई व्यवस्थापन गर्दै पानी रिचार्जसमेत गर्ने भएकाले स्टिमेटमा ग्रिनरी बनाउने उल्लेख गरिएको इन्जिनियर मण्डलले जानकारी दिनुभयाे । उनको अनुसार सडक डिजाइनअनुसार ५०/५० फिट फोरलेन सडकको दुबैतर्फ नाला, फुटपात, ग्रिनरी र बाटोको बीचमा सोलार बत्ती जडान गर्ने उल्लेख रहेको आयोजना कार्यालय नवलपरासीका इन्जिनियर मण्डलले बताउनुभयाे ।
सहरी तथा पूर्वाधार विकास आयोजना चितवनअन्तर्गत सदरमुकाम प्रवेशद्वारको निलो गेटदेखि बुद्धचोकसम्मको करिब डेढ किलोमिटरको सडक स्तरोन्नति गर्न उक्त डिजाइन र स्टिमेट गरिएको थियो । हरियालीसहित सडक निर्माणका लागि २०७४ सालमा आयोजनाले महालक्ष्मी/सुनकोसी/वर्लडवाईज जे.भी. काठमाण्डौलाई ठेक्कामार्फत सडक निर्माणको जिम्मेवारी दिएको थियो । सबै संरचनाहरू निर्माण भएपनि प्रावधानअनुसार अहिलेसम्म नगरपालिकालाई सडक हस्तान्तरण भएको छैन । विकास निर्माणको कार्य सम्पन्न भएर हस्तान्तरण नभएसम्म त्यसरी संरचना भत्काएर अन्य कार्य गर्न नमिल्ने सहरी तथा पूर्वाधार विकास आयोजना चितवनका प्रमुख झपट बहादुर थापाले बताउनुभयाे । ठेकेदारले गर्नुपर्ने सबै काम सकेर नगरपालिकालाई सडक हस्तान्तरणका लागि पत्र बुझाएको छ । तर, नगरपालिकाले हालसम्म उक्त पत्रलाई स्वीकृत नगरेको थापाले जानकारी दिनुभयाे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन आर्यालले सडकमा अधुरो काम देखिएकाले पूरा गरेको दाबी गर्नुभयो । नगरपालिकाका इन्जिनियर माधव न्यौपानेले ग्रिनरी बनाउने आयोजनाको उक्त कामलाई हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । आयोजनाको कामलाई हस्तक्षेप गर्न नमिल्ने भएपनि उक्त शीर्षकमा नगरपालिकाले रकम छुट्टाएकाले बजेटलाई कार्यान्वयन गरेको बताउनुभयाे ।