सुरेश यादव,नवलपरासी/ चैत १६ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ सुर्यपुरा स्थीत गण्डक नहरमा डल्फिन माछा भेटिएको छ । आज दिउसो भेटिएको डल्फिनलाई स्थानिय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वि नवलपरासीको त्रिवेणी स्थीत नारायणी नदिमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिनुभयो । केहि दिन देखि सुर्यपुरामा रहेको गण्डक विद्युत गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानियले डल्फिनको खोजि गर्दे आएका थिए ।
उक्त डल्फिल त्रिवेणी स्थीत गण्डक बाँध बाट भारतिय नहर हुदै सुर्यपुरा विद्युत गृहको बाँध सम्म आईपुगेको निमित्त प्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार उक्त डल्फिन अनुमानित ७०/७५ किलो को थियो भने लम्बाई ६ फिट बढि थियो ।
पछिल्लो समय नारायणी नदिमा डल्फिनको सङख्या बढ्दै गएको छ । तर डल्फिनको संरक्षणमा सरकारले चासो नदिएको संरक्षणकर्मिहरुले बताएका छन् । डल्फिनहरू नदीको उल्टो बहाव भएको पानीको भुमरी पर्ने ठाउँमा बस्न रुचाउने बताइन्छ । एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो ।