नवलपरासीमा होलीलाई मर्यादित रुपले मनाउन प्रहरी सक्रिय

नवलपरासी / चैत ११ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले होलीमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होलीको अवसरमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयाे ।

उनले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो ।

होली पर्वलाई लक्षित गर्दै ठाउँ ठाउँमा प्रहरी खटाईएकाे छ । सुरक्षा व्यवस्थाका लागि आवश्यकता अनुसार चेक प्वइन्टहरु थपिने र उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयाे । जिल्लाभारका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई पनि गस्ती गर्न निर्देशन दिइएको उहाँले बताउनुभयाे ।

होलीमा मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ । प्रहरीले फागु पूर्णिमाको अवसरमा सभ्य र मर्यादित ढङ्गले सुरक्षित रूपमा घर परिवार, साथीभाइमै होली पर्व मनाउन आग्रह गर्दै कहीँ कतै अमानवीय गतिविधि भएमा १०० नम्बरमा सम्पर्क गर्न अपिल गरेको छ ।