नवलपरासी / चैत ०३ ।
बुद्धजन्मस्थल लुम्बिनीबाट आज देखि सुरु भएको एक हजार दुई सय ५० जना श्रावणेर अर्थात अल्पकालीन भिक्षुहरुको धम्मयात्रा भोली पश्चिम नवलपरासीको सदरमुकाम परासी आउदै छ । मायादेवी मन्दिरबाट श्रावणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । भोली दिउसो एक बजे पछि परासी आईपुग्ने उक्त टोलीले परासी क्याम्पसमा भेला भई रामग्राम स्तुप सम्म पैदल यात्रा गर्ने कार्यक्रम रहेको छ । जसको पुर्वसन्ध्यामा आज परासीमा सरसफाई समेत गरिएको नगर प्रमुख धनपत यादवले बताउनुभयो ।
धम्मयात्रामा सहभागि भिक्षुहरु मार्फत धार्मिक प्रर्वद्धन मात्र नभई रामग्राम स्तुपको प्रचारप्रसारमा सघाउ पुग्ने यादवले विश्वास व्यक्त गर्नुभयो । साथै रामग्राम स्तुपमा धम्मयात्रा पछि दिपप्रज्वलन गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाले सुचना जारी गरि सबैमा धम्मयात्रामा सहभागि हुन पनि आह्वान गरेको छ ।
श्रामणेरलाई आज लुम्बिनी बाट लुम्बिनी विकास कोषका पदाधिकारीहरुले पुष्प अर्पण गरी यात्रा सुरु गराएका हुन् । लुम्बिनीबाट सुरु भएको धम्मयात्रा आजै भैरहवा आईपुगेको छ भने भोली आइतबार रामग्राम आईपुग्ने छ ।
धम्मयात्राले समुदाय तहसम्म बौद्धशिक्षालाई अघि बढाउन सहयोग पुग्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले विश्वास व्यक्त गर्नुभयो । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना,लुम्बिनी विकास कोषसहितका संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि एक हजार दुई सय ५० जनालाई कुलपुत्र प्रव्रज्या अर्थात अल्पकालीन भिक्षु गराइएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई महत्वपूर्ण मान्ने गरिन्छ ।
अल्पकालीन भिक्षुहरूले पहेँलो चिवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्ने गर्दछन् । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । भिक्षु बन्न दुई सय २७ वटा नियम पालना गर्नुपर्ने हुन्छ ।
धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्मयात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्ममा प्रस्थान गर्नु हो ।