रामग्राम नगरपालिकाको १३ औं नगर सभा सम्पन्न 

नवलपरासी / फागुन ११ ।

पश्चिम नवलपरासीको सबै भन्दा पुरानाे रामग्राम नगरपालिकालाई नगरको विकासमा ठोस योजना बनाएर काम गर्न विभिन्न राजनीतिक दलहरुले सुझाव दिएका छन् । नगरपालिकाले आज आयोजना गरेको १३ औं नगर सभाको समुदघाटन कार्यक्रममा बोल्ने दलका नेताहरुले नगरको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई र कृषि क्षेत्रको विकासमा जोड दिन आग्रह गरेका हुन । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षता र रामग्राम स्तुपका अध्यता डा. कौशलेन्द्र बहादुर श्रीवास्तवको प्रमुख आतिथ्यमा १३ औं नगरसभाको समुदघाटन समारोह सम्पन्न गरिएको हो । सो अवसरमा डा. श्रीवास्तवले रामग्राम नगरपालिकाको नाम रामग्राम स्तुपाको नामबाट राखिएकोले यसको विकासको पहिलो जिम्मेवारी रामग्रामकै हुने बताउनुभयो । डा. श्रीवास्तवले भारतले २४ बर्ष अघिदेखि डुब्लिकेट रामग्राम निर्माण गरी प्रचार गर्ने प्रयास गरेको बताउँदै त्यसको जवाफ आफूले हिन्दी भाषामा लेखि भारतका विभिन्न विश्वविद्यालयमा पठाएको स्मरण गर्नुभयो ।  डा. श्रीवास्तवले रामग्राम उत्खननको काम निकै सिथिल अवस्थामा रहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

१३ औं नगरसभाको उद्घाटन कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले नगरको आम्दानीको श्रोत बृद्धी गर्ने र जनताको जीवनस्तर वढाउने खालका कार्ययोजना ल्याउन जनप्रतिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले नगरमा वलियो श्रोत भएमा मात्र पूर्वाधारको काममा खर्च गर्न सकिने बताउनुभयो । कार्यक्रममा पूर्व रक्षाराज्यमन्त्री रामबचन यादवले नगरपालिका स्थानीय सरकार भएकोले जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा विशेष जोडदिनु पर्ने बताउनु भयो । यस्तै पूर्व राज्यमन्त्री धनश्याम यादवले विकासको योजना दीर्घकालसम्मका लागि वनाउनु पर्ने बताउनु भयो । उहाँले जनप्रतिनिधि चुनाव केन्द्रीत नभई विकास केन्द्रीत हुनु पर्नेमा जोडदिनु भयो । कार्यक्रममा संविधान सभाका सदस्य दुलारी हरिजन, चिनक कुर्मी, नेपाली काँग्रेसका अनिल गौढ, नेकपा एमालेका विरेन्द्र यादव, रास्वपाका रवि पाण्डे, जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव, जनता प्रगतिशिल पार्टीका अध्यक्ष राधेरमण पाण्डे, नेपाल रेडक्रस सोसाईटी नवलपरासीका अध्यक्ष राजेन्द्र प्रसाद अग्रहरी, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले कार्यक्रमको औचित्य र नगरउपप्रमुख संझना चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम संचालक नगर शिक्षा अधिकृत सुन्दर खनालले बताउनुभयो ।

सो अवसरमा नगरपालिकाले रामग्राम नगरभित्रका ११२ बर्षिय भागिरथी थारु र ९९ बर्षिय नजबु निसा धिनियालाई जेष्ठ नागरिकको रुपमा सम्मान गरेको छ । यस्तै नगरभित्रका विभिन्न विद्याका दर्जनौ उत्कृष्ट संस्था, व्यक्ति, खेलाडि र नगरपालिकाका कर्मचारीहरुलाई सम्मान गरेको छ । दुई चरणमा सम्पन्न गर्ने गरी तयारी गरिएको १३ औं नगर सभाको दोश्रो सत्र आजै सम्पन्न हुने रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो ।