सुरेश यादव,नवलपरासी / माघ ०४ ।
नेपालमा पेप्सी, मिरिन्डा, सेभेन अप, माउण्टेन ड्यू, स्लाइस, स्टिङ इनर्जी ड्रिंक, एभरभेस सोडा आदि उत्पादन गर्दै आएको कम्पनी हो, वरुण वेभरेज नेपाल प्रालि । भारतको हरियाणामा स्थायी ठेगाना भएको वरुण वेभरेजले नेपालमा पनि वरुण वेभरेज नेपालको नामबाट विभिन्न पेय पदार्थहरूको उत्पादन तथा बिक्री वितरण गर्ने गरेको छ ।
तर नवलपरासीको बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजले नेपालमा भने नक्कली भ्याट बिल खरिद तथा बिक्री गरी राज्यलाई करोडौँ रुपैयाँको कर छली गरेको पुष्टि भएको छ । उच्च अदालत पाटनले गत पुस ३ गते गरेको फैसलामा वरुण वेभरेजले सामान खरिद नै नगरी नक्कली भ्याट बिल मात्रै खरिद गरेर राज्यलाई करोडौँ रुपैयाँको कर छली गरेको ठहर गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलासले वरुण वेभरेजले नक्कली भ्याट बिल खरिद गरी कर छली गरेको ठहर गरेको छ । राजश्व अनुसन्धान विभागले लामो अनुसन्धान गरी वरुण वेभरेजका वित्त प्रमुखकै मिलेमतोमा ६७ करोड ८१ लाख ६४ हजार ५६१ रुपैयाँको कर छली गरेको भन्दै सोही रकम बराबर बिगो कायम गरी सुरुमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । २०७६ पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको राजस्व चुहावटको मुद्दा पछि उच्च अदालत पाटनमा सरुवा भई गएको थियो ।
काठमाडौँ जिल्ला अदालतले २०७६ फागुन ५ गते उच्च अदालतमा पठाउने आदेश दिएको उक्त मुद्दामा ४ वर्षपछि गत पुस ३ गते उच्च अदालत पाटनले आफ्नो फैसला सुनाउँदै २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ ५० पैसा मात्रै बिगो कायम गर्ने फैसला सुनाएको हो । उक्त फैसलासँगै नेपालमा पेप्सीको नामले परिचित वरुण वेभरेजले छली गरेको ६७ करोड ८१ लाख ६४ हजार ५६१ रुपैयाँमध्ये २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ ५० पैसा मात्रै तिरे पुग्ने भएको छ । त्यसमा उच्च अदालत पाटनले पुस १९ गते जरिवानाका लागि छुट्टै सुनुवाइ गरेको थियो । उक्त सुनुवाइमा अदालतले १ करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
स्राेत : राताेपाटी