राजनैतिक दलका नेताले नै तिर्दैनन् परासी खानेपानीको महसुल

परासी/ पुस २१ ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १५ दिन भित्र पानीको महसुल नबुझाए धारा काट्ने भएको छ । वर्षो देखिको लाखौँ महसुल उपभोक्ताबाट उठाउन बाँकि रहेका कारण भोली देखि १५ दिन समय दिईएको छ । अब पनि महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारण सभाले निर्णय गरेको समितिका अध्यक्ष खगेश्वर पन्थिले जानकारी दिनुभयो ।

आगामी माघ पाँच गते भित्र पानीको वाँकी महशुल भुक्तानी नगरे धारा पनि काटिन्छ र रकम सहित महसुल नतिर्नेको नाम समेत सार्वजनिक गरिनेछ अध्यक्ष पन्थीले भन्नुभयो । समितिले खानेपानी उपभोग बापतको ४३ लाख २३ हजार ५ सय ८१ रुपैयाँ ग्राहक बाट उठाउन बाँकि छ ।

गत आर्थिक वर्षको मसान्त सम्म ५१ लाख ३८ हजार बक्यौता रहेकोमा चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा ८ लाख १५ हजार बक्यौता महसुल उठेको छ । समितिले अब खानेपानी प्रभावकारी रुपमा वितरण गर्न सक्ने अवस्थामा भएपनि आर्थिक अभाव रहेकाले महसुल उठाउने कार्यलाई प्राथमिकतामा राखिएको अध्यक्ष पन्थिले बताउनुभयो । समितिका अनुसार घरासयी उपभोक्ताको रुपमा खानेपानी उपभोग गर्नेहरुको महसुल बक्यौता बढि देखिएको छ । केहि संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने ९ ओटा धारा समितीले काटेको छ । परासीमा बस्ने विभिन्न राजनैतिक दलका नेताहरुले नै वर्षाै देखि खानेपानीको महसुल नबुझाएको पाईएको छ । राजनैतिक दलका नेताले नै महसुल बुझाएका छैनन्, पैसा नतिरे धारा काट्छौ भन्दा धम्कि दिन्छन्, अब हामि कडाईका साथ महसुल उठाउन केन्द्रित हुन्छौ अध्यक्ष पन्थिले भन्नुभयो ।

तिन महिना सम्म महसुल नबुझाउने ग्राहकको धारा बन्द गर्ने निति भएपनि समितिले कार्यान्वयन नगर्दा महसुलको बक्यौता लाखाैँ पुगेको हो । २ पटकसम्म पनि कोरम नपुगेपछि आज तेश्रो पटक डाकिएको साधारण सभाले बाँकि महसुल उठाउने लगायतका विभिन्न निर्णय गरेको छ ।

छैठौ बार्षिक साधारणको समुदघाटन समितिले पुष ७ गते गरेको थियो । उक्त दिन साधारण सभाकोलागि कोरम नपुगेपछि पुष १३ गतेकालागि साधारण सभा तय गरिएको थियो । दोश्रो पटक पनि गणपुरक सख्या नपुगेपछि हिजाे शुक्रवार उपस्थित सदस्यहरुका बिच साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा संस्थागत प्रतिवेदन, आर्थिक तथा लेखापरिक्षण प्रतिवेदन पास भएका छन् । समितिले रामग्राम वडा नम्बर १ र ६ मा रहेको दुई ओटा खानेपानी ट्याङ्कि मार्फत १७ सय घरधुरीलाई खानेपानी वितरण गर्दे आएको छ । पोखरापालीमा रहेको ट्याङ्किको पानी पनि अहिले वितरण भईरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । वुद्धचोकमा पोखरापालीबाट आएको पानीको पाईप विस्तारका लागी काम गरी झन्डै ३ हजार घरधुरीलाई पानी वितरण गर्ने समितिको तयारी छ ।