बालिका कुटपिट गरेका यादव प्रहरीकाे नियन्त्रणमा

सुरेश यादव,नवलपरासी/मंसिर २१ ।

पश्चिम नवलपरासीमा बालिकालाई निर्घात कुट्ने शिक्षकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । सरावल गाउँपालिका वडा नं ७ बर्गदवाको बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ्ग स्कूलमा कक्षा १ मा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने सहायक प्रिन्सिपल निरञ्जन यादवलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाईएकाे प्रहरीले जनाएको छ ।

९ वर्षिय कञ्चना राजभरलाई यादवले प्लास्टिकको पाईपले पिठ्युँ, टाउको, हातमा निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट बालिकाको पिठ्युँ र हातमा रातो डाम बसेको छ । सोमबार बालिकाको घरमा नै गई विद्यालय किन नआएको भन्दै कुटपिट गरेको बताइएको छ । शिक्षक यादवले आफ्नै मोटरसाईकलमा बसालेर बालिकालाई विद्यालय लगीे कोठामा थुनेर कुटपिट गरेको अभिभावकले जनाएका छन् ।

बुधवार बिहान उनकै निवास क्षेत्रबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । अभिभावकको जाहेरीको आधारमा उनलाई प्रहरीले बालबालिका सम्बन्धी कसुरमा मुद्धा दायर गरी अनुसन्धान सुरु गरेको हो । संविधानकाे बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७२ अनुसार यादवलाई बालबालिका सम्बन्धी कसुरमा कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बाेहराले जनाकारी दिनुभयाे ।

घटनापछि सरावल गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष हयात खाँ धुनियाँ सहित स्थानीयहरुकाे उपस्थितिमा विद्यालयमा तालाबन्दी गररिएकाे थियाे ।