सामुदायिक रेडियो परासी यस क्षेत्रको अग्रणी संञ्चारमाध्यमः नेता कंण्डेल

सुरेश यादव,नवलपरासी / मंसिर १६ ।

पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासीको नवनिर्वाचित संञ्चालक समितिको पदस्थापन कार्यक्रम आज परासीमा सम्पन्न भएको छ । रेडियोको १५ वर्ष सम्म नेतृत्व गर्नुभएका निर्वतमान अध्यक्ष सुमनगोपाल आचार्यले नवनिर्वाचित अध्यक्ष राजकुमार रेश्मिलाई अध्यक्षको आसन ग्रहण गराएर पदस्थापन गराउनुभएको हो ।

निर्वाचन समिति संयोजक राजेन्द्र कुमार क्षेत्रीले कार्तिक २३ गते रेडियोको छैठौँ अधिवेशनका क्रममा सर्वसम्मत निर्वाचित संञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद अनुसारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रेडियोको उपाध्यक्षमा नगेन्द्र अग्रहरी, सचिवमा तोरेन्द्र जिसि, कोषाध्यक्षमा चन्द्रमणी चौधरी, सहसचिवमा गुरुदत्त पौडेल, सदस्यहरुमा माधव प्रसाद पाण्डे, राजकिशोर गुप्ता, विष्णुहरी नेपाल, उपेन्द्र गुप्ता, श्रद्धासुमन आचार्य र मुक्ति प्रसाद पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

यसैगरी पेउनारायण न्यौपानको नेतृत्वमा तारा देवी शर्मा र गोविन्द न्यौपाने सदस्य रहेको लेखा समिति सहित जिल्ला सहकारी संघ प्रतिनिधि ईन्द्र बहादुर क्षेत्रिको पनि आजै पदस्थापन गरिएको छ ।

सो क्रममा बोल्दै प्रमुख अतिथि पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलले नवनिर्वाचित रेश्मि नेतृत्वको समितिलाई रेडियोको विश्वनियता कायम राख्दै अझै उचाईमा पुर्याउने चुनौती रहेको बताउनुभयो । रेडियो परासी यस क्षेत्रकै अग्रणी संञ्चारमाध्यमको रुपमा स्थापित हुन सफल भएको बताउदै कंण्डेलले संञ्चारमाध्यम वर्तमान परिस्थीतिमा अझ गम्भिर र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । वर्तमान राजनितिक परिस्थीतिको बारेमा चर्चा गर्दे काग्रेस केन्द्रिय सदस्य समेत रहनुभएका कंण्डेलले राजतन्त्र फर्काउछु भनेर हिड्नु उपयुक्त कदम नभएको बताउनुभयो ।

दुर्गा प्रसाईको आन्दोलन फगत चर्चा बटुल्ने काम मात्र भएको बताउदै बैंकलाई ठगेर देशको अर्थतन्त्र तहसनहस पार्ने प्रयास गरेर गरिने आन्दोलनको अर्थ नहुने बताउनुभयो । अहिले नवलपरासी सहित देशभरका स्थानिय तहमा बेथिति बढेको बताउदै कंण्डेलले जनप्रतिनिधि जनता प्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले केहि वर्ष अगाडी सम्म सबैभन्दा पछाडी परेको नवलपरासीको सदरमुकाम परासी सहितका क्षेत्रले मुहार फेरेको बताउदै विस्तार परिर्वतन भईरहेको उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले जनअपेक्षा अनुसार संञ्चारमाध्यम प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । विभिन्न रचनात्मक कार्यक्रम गरेर रेडियो समाजसंग घुलमिल हुदै समाजिक उत्तरदायित्व पनि पुरा गर्नु सकारात्मक विषय भएको यादवले उल्लेख गर्नुभयो ।

निर्वतमान अध्यक्ष आचार्यले रेडियोलाई अगाडी बढाउन आफु अध्यक्ष नभएपनि निरन्तर प्रतिवद्ध रहने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष रेश्मिले अहिलको नेतृत्वलाई अवसर संगै चुनौती पनि रहेको बताउदै अहिले संञ्चारमाध्यम प्रविधिमैत्रि बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रामग्राम १ का वडा अध्यक्ष रुद्रप्रकाश उपाध्याय, रोटरी कल्ब अफ नवलपरासीका अध्यक्ष विरेन्द्र अग्रहरी, रेडियोका सल्लाहाकार हरि कुमार ढकाल लगायतले रेडियोलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

रेडियो परासीले कार्तिक १७ गते रेडियो उद्घाटन भएको दिनको सम्झनामा सप्ताहव्यापी कार्यक्रमको सहितको वार्षिकउत्सवका कार्यक्रममा कार्तिक २३ गते नयाँ नेतृत्व सर्वसम्मत चयन गरेसंगै समापन भएको थियो ।